विराटनगर- विराटनगर-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको एक ट्रकमा यही फागुन ११ को राति साढे नौ बजेतिर स्कुटर ठोक्किएको थियो ।
होटखोलाबाट शनिहाटतर्फ आइरहेको स्कुटर ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र पछाडि बसेका विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।उपचाररतमध्ये तिवारीको आज (आइतबार) बिहान मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे छ बजेतिर तिवारीलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । परीक्षणका क्रममा मादक पदार्थ सेवन गरेर उनले स्कुटर चलाएको ट्राफिक प्रहरीले भनेको छ । प्रहरीले स्कुटर, ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।