विराटनगर– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको विषयमा विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला भैरहवा बहुमुखी क्याम्पसको हलमा तोडफोड भएको छ । चैत ५ मा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । देशभरका क्याम्पसमा सोमबार विद्यार्थी संगठनहरुले नाम दर्ता गरिरहेका छन् । तर, भैरहवा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी संगठनहरूले आइतबार साँझै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए । 

समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले विविध माग राखेर विरोध जनाइरहेको छ ।
निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउने भन्दै सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसिरहेको क्रममा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु चुनावका लागि संगठन दर्ता गर्न बाजागाजासहित क्याम्पसमा प्रवेश गरेको थियो । 

यस पछि पाँच विद्यार्थी संगठनले तोडफोडमा उत्रिएका थिए । क्याम्पसका कुर्सीहरू भाँचिएका छन् । क्याम्पस प्रांगणमा टायर बालेर विरोध प्रदर्शन गरिएका थियो । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरे पछि तोडफोडमा उत्रिएको जानकारी दिए ।