विराटनगर– नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनको लागि बुधबार भएको मतदान सकिएको र मतगणना बिहीबार बिहानदेखि विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयम हुनेछ । 

निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार अबेर रातीसम्म भएको मतदानमा कूल मतदाता ९११ जनामध्ये ८८८ जनाले मतदान गरेको बताएका छन् । उनले मतगणना बिहीबार बिहान पाञ्चालीस्थित एमाले मोरङ पार्टी कार्यालयमा हुने जानकारी दिएका हुन् । 

अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई र सदस्य गरी १६५ सदस्यीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा संस्थापन र संस्थापन इत्तर प्यानल बनाएर नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । 

संस्थापन पक्षबाट अध्यक्षमा पूर्वप्रदेश सांसद राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजबंशी र विराटनगर महानगर उपप्रमुख शील्पा कार्कीलगायत छन् भने इत्तर पक्षबाट अध्यक्षमा जिल्ला समन्वय समिति मोरङ प्रमुख अजबर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तावा र जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा ठाकुरलगायत चुनावी प्रतिस्पर्धामा छन् ।