विराटनगर— संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्थाको पुनःस्थापनाको मागसहित विरोध प्रदर्शन गर्ने भएको छ।

सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्तिमार्फत दिउँसो २ बजेबाट आन्दोलन सुरु हुने जानकारी दिएका छन्। सिफल चौरमा हुने प्रदर्शनको तयारी यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बल्खु, कोटेश्वर र सिफलबाहेकका क्षेत्रमा प्रदर्शन निषेध गरेपछि गरिएको हो।

वर्तमान गणतान्त्रिक व्यवस्थाविरुद्ध सशक्त रूपमा राजसंस्था पुनःस्थापनाको माग गर्दै आएका राजावादी समूहहरू पछिल्लो समय विभिन्न प्रदर्शनमार्फत सक्रिय बन्दै आएका छन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारी झोले’को संज्ञा दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमार्फत शाहीले प्रधानमन्त्री ओलीमाथि अनेक विवादास्पद प्रकरणमा संलग्न रहेको आरोप लगाए।

शाहीले प्रधानमन्त्रीलाई गिरिबन्धु टी–स्टेट, कम्बोडिया प्रकरण, यति होल्डिङ्स, ओम्नी समूह, भ्यू–टावर, टेरामक्स, भुटानी शरणार्थी प्रकरण, वाइडबडी विमान खरिद, एनसेल, पोखरा र भैरहवा विमानस्थल निर्माण तथा भिजिट भिसा प्रकरणसँग जोड्दै व्यंग्यात्मक लहजामा ’झोले’ को संज्ञा दिएका हुन्।

शाहीले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईं झोले नै हो – गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यू टावरको, टेरामक्सको, भुटानी शरणार्थीको, वाइडबडीको, एनसेलको, पोखरा विमानस्थलको, भैरहवा विमानस्थलको, भिजिट भिसाको।’

उनले अगाडि लेखेका छन्, ‘तर प्रधानमन्त्रीज्यू… भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस्।”

राप्रपा प्रमुख सचेतक शाहीको यो टिप्पणी प्रधानमन्त्री ओलीले केही दिनअघि सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ भन्ने पोस्टर सार्वजनिक गरेपछि त्यसको प्रतिक्रियामा आएको हो।
#राजसंस्था