विराटनगर- युद्धविराम लम्ब्याएर बाँकी रहेको बन्धक रिहा गर्न हमास तयार नभएपछि दबाबस्वरूप इजरायलले गाजामा विद्युत आपूर्ति बन्द गरेको  छ ।

माघ ५ मा ४२ दिनको पहिलो चरणको युद्धविराम फागुन १७ मा सकिएको थियो। पहिलो चरणको युद्धविराम अवधि थप ४२ दिन लम्ब्याउन हमासले अस्वीकारेको थियो।

यस पछि गाजामा विद्युत आपूर्ति रोक्न ऊर्जामन्त्री एली कोहेनले इजरायलको विद्युत निगमलाई निर्देशन दिएको बीबीसीले जनाएको छ। 

'गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति रोक्ने आदेशमा हस्ताक्षर गरेको छु। बन्धकहरूको रिहाइ गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौँ,' मन्त्री कोहेनले भने ।

उनले गाजामा इजरायलबाट आपूर्ति हुने पानी पनि रोक्ने तिर सोचिरहेको समेत बताएका छन् । इजरायलले हमासले युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरुन् भन्ने चाहेको छ । हमास भने युद्धविरामको दोस्रो चरणको वार्ता गराउन चाहन्छ।

दोस्रो चरणको युद्धविराममा गाजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने भनिएको थियो। दोस्रो चरणको युद्धविरामपछि इजरायली सैनिक गाजा क्षेत्रबाट फर्कने पनि सर्त छ।

तेस्रो चरणको युद्धविराममा गाजामा मारिएका इजरायली बन्धक र इजरायलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई बुझाउने भनिएको थियो।

यसपछि गाजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इजरायल र गाजाको सीमाना खुला गरिने सम्झौता थियो। यस अनुरुप प्रक्रिया अगाडि बढाउनुपर्नेमा हमासको जोड छ।

पहिलो चरणको युद्धविराम सकिएपछि दोस्रो चरणको युद्धविरामका छलफलहरू सकारात्मक ढंगले अगाडि नबढ्दा अमेरिकाको प्रस्तावमा इजरायलले पहिलो चरणकै युद्धविराम थप ७ साता बढाउन सहमत भएको थियो ।  हमासले नमाने पछि गाजामा मानवीय सहायताका लागि जाने सवारी साधनहरूलाई रोकिएको छ ।