विराटनगर– आकर्षक तलबको प्रलोभनमा अमेरिका र क्यानाडा पठाइदिने भनेर रकम ठगी गरेको आरोपमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ–८ हात्तीगौंडा बस्ने संखुवासभा मकालु–२ का २१ वर्षीय सालिकराम बानिया र काठमाडौं कीर्तिपुर–१४ चौभार बस्ने मकवानपुर इन्द्रसरोवर–३ का ३१ वर्षीया एलिना पुरी छन् ।
सालिकरामले अमेरिका पठाउने भन्दै एक पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले अर्का एक पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको प्रहरीमा उजुरी परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पुर्याइएको प्रहरीले जनाएको छ ।