विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएकोमा हर्षित हुँदै आमनागरिक प्रति आभार प्रकट गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको भनेको छ ।

पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायत विविध विषयमा छलफल गर्न चैत ३ मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ । बैठकले आमराजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको छ।