विराटनगर– आकर्षक तलब सहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइ दिने भनेर प्रलोभनमा लाखौँ रुपैयाँ ठगेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिबाट ८५ लाख ५२ हजार रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानमा देखिएके छ ।
प्रहरीका अनुसार पक्राउहरूमा काठमाडौं–१६ बस्ने गोरखा आरूघाट–४ की २४ वर्षीया सरू परियार, काठमाडौं टोखा–३ बस्ने कञ्चनपुर बेलौरी–३ का ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर–६ की ३४ वर्षीया रेखा तुलाधार, काठमाडौं–१६ बस्ने धादिङ निलकण्ठ–९ का २७ वर्षीय रवि खनाल, काठमाडौं बुढालिकण्ठ–८ बस्ने ताप्लेजुङ सिरिजङ्घा–१ का ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा लिम्बु छन् ।
सरूले अष्ट्रेलिया पठाइदिने भनेर एक पीडितबाट २ लाख ५० हजार रूपैयाँ, जेम्सले क्रोएसिया पठाउन भन्दै अर्को पीडितबाट ३ लाख रूपैयाँ, रेखाले जापान पठाउने भनेर ४ पीडितहरूबाट १३ लाख २ हजार रूपैयाँ, रविले अमेरिका पठाउने भरोसामा एक पीडितबाट १४ लाख रूपैयाँ तथा ललित र दिपेशले अमेरिकाका काम लगाइ दिने भन्दै थप एक पीडितबाट ५३ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।