काठमाडौँ — नबिल बैंकले मनोज कुमार ज्ञवालीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो ।

ज्ञवाली यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) थिए । उनले २०७७ साउनमा ज्योति विकास बैंकको सीईओ पदबाट राजीनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । त्यसपछि उनले महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै सिनियर डीसीईओसम्मको पदोन्नति हासिल गरेका थिए । 

चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले नेपाल राष्ट्र बैंकमा वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । साथै उनले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंकलगायत संस्थामा उच्च तहमा बसेर काम गरेका छन् । ज्ञवालीको नेतृत्वमा नबिल बैंकले आगामी दिनमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ ।