विराटनगर– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा होली पर्व नेपालीको मौलिक संस्कृति भएकोले यसको संरक्षण र संवर्द्धनमा लाग्नु आवश्यक रहेको बताएका छन् । 

होली पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याए पछि प्रारम्भ  हुने होली पर्व पूर्णिमाको राती चीर दाह गरेपछि समापन हुने रङ्गहरूको पर्वले आपसी मेलमिलाप र सद्‌भावनाको विकास गर्दै राष्ट्रिय एकता र अखण्डता कायम गर्न अपिल गरेको छ । 

‘होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको छ,’ सन्देशमा भनिएको छ, ‘यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो ।’

होली पर्व असत्यमाथि सत्यको, अन्याय माथि न्यायको, दूराचार माथि सदाचारको र अधर्म माथि धर्मको विजय भएको खुशियालीमा मनाइने हुँदा यो पर्वले समस्त नेपालीहरूबीच रिस राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्‌भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने उनले विश्‍वास व्यक्त गरेका हुन् । 

होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्दै राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरेका छन् ।