विराटनगर— विदेशस्थित १२ वटा नेपाली नियोगले एक आर्थिक वर्षमा असुल भएको ७२ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व सरकारको खातामा नराखेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको छ।बुधबार सार्वजनिक भएको ६२औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ का गतिविधि समेट्दै महालेखा कार्यालयले नियोगहरूको उक्त लापरवाही औंल्याएको हो।
कानुन अनुसार तुरुन्त दाखिला गर्नुपर्ने रकम रोकिने प्रवृत्ति
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५८(१) अनुसार नेपाल सरकारलाई प्राप्त हुने सबै राजस्व तोकिएको खातामा समयमै जम्मा गर्नु अनिवार्य हुन्छ। तर, प्रतिवेदनअनुसार विदेशस्थित ३९ नियोगमार्फत संकलित पाँच अर्ब ६३ करोड ९४ लाख २४ हजार रुपैयाँमध्ये चार अर्ब सात करोड ७६ लाख ८१ हजार रुपैयाँमात्र निकासाबाट कट्टी गरिएको थियो। बाँकी एक अर्ब ५६ करोड १७ लाख ४३ हजार रुपैयाँमध्ये १२ नियोगले अझै ७२ करोडभन्दा बढी रकम सरकारको राजस्व खातामा दाखिला नगरेको पाइएको छ।महालेखा कार्यालयले यो रकम तत्काल सञ्चित कोषमा दाखिला गर्नुपर्ने सुझाव दिएको छ।
एक आर्थिक वर्षभित्रै दाखिला गर्नुपर्ने व्यवस्था
महालेखाका अनुसार नियोगहरूले आफ्नो कार्यक्षेत्रमा संकलन भएको राजस्व सम्बन्धित आर्थिक वर्षभित्रै सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ। तर नियोगहरूले त्यसविपरीत ढिलासुस्ती गर्नाले सरकारी राजस्व प्रणालीमै प्रश्न उठ्ने अवस्था देखिएको छ।
#महालेखापरीक्षक