विराटनगर- अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको शनिबार मृत्यु भएको छ ।
मोरङ जिल्ला अदालतले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानलाई कारागार चलान गरिएको थियो ।
मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ मा कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो । अदालतले गत मंसिर २३ मा मुद्दाको पुर्पक्षका धरौटीमा छाड्ने आदेश दिएको थियो । रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए । उनको मुद्दाको फैसला हुन बाँकी छ ।