विराटनगर- कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा शनिबार राति चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार कोशी राजमार्गअन्तर्गत बूढीगंगा–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा परेर एम्बुलेन्स क्षतिग्रस्त भएको छ।
दुर्घटना गम्भीर घाइते राईको उपचारकाे क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । उदयपुरको पञ्चावती घर भएका राई मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले भनेको छ । एम्बुलेन्समा चालक मात्रै थिए ।