विराटनगर – नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले प्रतिनिधि सभाको सोमबारको बैठकमा लोकसेवा परीक्षामा ६ पटकभन्दा बढी सहभागी हुन नपाइने कानुनी व्यवस्थाको कडा आलोचना गरेका छन्।

उनले कुनै पनि नागरिकलाई परीक्षामा सहभागी नै हुन नदिने गरी लगाइने यस्तो सीमा संविधानको भावनाविपरीत हुने बताए। लोक सेवा आयोगको परीक्षामा ६ पटकसम्म मात्रै सहभागी हुन पाउने गरी कानुन बनाउन लागिएको समाचार सार्वजनिक भएपछि संसदमा यस विषयमा बहस सुरु भएको हो।

‘परीक्षामा रोक, रोजगारीको विकल्प पनि छैन’

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेका संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा निर्धारण गर्न लागिएको छ । सांसद ज्वालाले सरकारले रोजगारीको उचित व्यवस्था नगर्ने, अनि प्रतिस्पर्धाबाट समेत नागरिकलाई बञ्चित गर्ने निर्णय गलत भएको तर्क गरे।

"लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउने अधिकार सबैलाई हुनुपर्छ," उनले भने। "राजनीतिक नियुक्ति कति पटक गर्न पाइन्छ, चुनाव कति पटक लड्न पाइन्छ, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक बन्न पाइन्छ भन्नेबारे बहस किन हुँदैन?" उनले ६ पटकको सीमा तोक्ने व्यवस्थाले नेपाली युवाहरूलाई थप संख्यामा खाडी मुलुक तथा मलेसिया जान बाध्य बनाउने चेतावनी दिए। साथै, यो कानुनी व्यवस्थाले मौलिक अधिकारमाथि प्रहार गर्ने भन्दै यसको कडा विरोध गरे।