राजविराज (सप्तरी) — महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६७ वर्षीय निर्भयकान्त झाले मतदान गरेका छन्।

झा मंगलबार बिहानै मतदान केन्द्रमा उपस्थित भई मतदाताहरूको लाइनमा सबैभन्दा अघि उभिएर आफ्नो मताधिकार प्रयोग गरे। उनले युवा विद्यार्थीहरूलाई शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न सुझाव पनि दिए।

तिलाठी स्थायी घर भएका झाले उमेरले पढाइलाई नछेक्ने बताउँदै, विद्यार्थीको हैसियतमा मताधिकार प्रयोग गरेको बताए। मतदानका क्रममा उम्मेदवारहरू उनलाई भेट्न आएर समर्थन व्यक्त गरेका थिए।

यसपटकको स्ववियु निर्वाचनमा क्याम्पसमा कुल ३,०१२ मतदाता रहेका छन्। सभापति पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा छन्। गत निर्वाचनमा समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनले सबै पदमा विजय हासिल गरेको थियो ।  यसपटक पनि ती संगठनहरूको गठबन्धन कायम रहेको छ।

यस निर्वाचनमा नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु लगायतका संगठनहरूको सहभागिता छ। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुने र परिणाम छिट्टै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।