विराटनगर– मिल्स गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयाले भारतको बिहार वाइएससी खोखाझील कटिहारलाई पराजित गर्दै सेमिफाइलनमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको विराटनगरको जुट मिल खेल मैदानमा पहुना टोली वाइएससी खोखाझील कटिहारलाई ४–० गोलअन्तरले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।
जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३७ औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो । दोस्रो हाफपछि टीएफसीले थप तीन गोल गर्यो । ७४ औँ मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै निश्चल लामाले ७७ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । खेलको अतिरिक्त समयमा निवस फुयलले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।
खेलको प्लेयर अफ द म्याच टिएफसीका कप्तान सविन घिमिरे घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । बुधबारको खेल आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरिया विराटनगर र लेटाङ्ग फुटबल क्लब मोरङबीच हुनेछ ।