विराटनगर- इजरायली सेनाले गाजामा गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ४ सय जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि सुरु भएका यी आक्रमणहरूमा सयौं व्यक्ति घाइते भएका छन्। हमास पक्षधर स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म ४ सय ४ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हमासले बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरेपछि गाजामाथि आक्रमण गरिएको जनाएको छ। इजरायलले आतंककारी केन्द्रित आक्रमण गरेको दाबी गरेको छ।
हमासले इजरायलले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका अनुसार, हमासले इजरायलले मानव अधिकार उल्लंघन गरेको र आक्रमणको दोष अमेरिकाले पनि लिनुपर्ने बताएको छ। गाजामाथि आक्रमण गर्नुअघि इजरायलले अमेरिकासँग छलफल गरेको हमासको दाबी छ।
यसअघि, हमासले इजरायलमा रकेट आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको थियो भने सात सयभन्दा बढी घाइते भएका थिए। त्यसको जवाफमा इजरायलले गाजामा हवाई आक्रमण गरेको थियो।
इजरायली आक्रमणका कारण गाजामा ठूलो विध्वंस भएको छ। ड्रोनबाट खिचिएका दृश्यहरूमा गाजा सहरमा व्यापक क्षति देखिएको छ।
संयुक्त राष्ट्रसङ्घले गाजाको आधा जनसङ्ख्या भोकमरीमा परेको चेतावनी दिएको छ। इजरायली नाकाबन्दीका कारण खाद्यान्न आपूर्तिमा समस्या भएको र स्थिति गम्भीर बन्दै गएको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले जनाएको छ।
इजरायल र हमासबीचको यो द्वन्द्वले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने चिन्ता बढेको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमित रहन र वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गरेका छन्।