काठमाडौँ – नेपाली सेनाले १३ जना सहायक रथी (जर्नेल) र दुई जना महासेनानी (कर्णेल) को जिम्मेवारी हेरफेर गर्दै व्यापक सरुवा गरेको छ। सरुवा आदेशअनुसार, सरुवा भएका अधिकृतहरू आजैदेखि नयाँ जिम्मेवारीमा खटिनेछन्।

प्राप्त विवरणअनुसार, भर्ना छनौट निर्देशनालयका सहायक रथी शक्तिजंग बस्नेतलाई निमित्त चिफ अफ स्टाफका रूपमा मध्यपश्चिम पृतना हेडक्वार्टर पठाइएको छ। राष्ट्रिय सेवा दलका महेशकुमार थापालाई सैनिक तालिम महानिर्देशनालयमा सरुवा गरिएको छ भने सोही निर्देशनालयका लीलाबहादुर खनाल क्षेत्रीलाई निमित्त प्रशासन रजिष्ट्रारको रूपमा वीरेन्द्र अस्पतालमा खटाइएको छ।

नम्बर ४ बाहिनी अड्डाका रोशनसमशेर जबरालाई राष्ट्रिय सेवा दलको निमित्त निर्देशक, बागलुङस्थित नम्बर २३ बाहिनी अड्डाका जगतबहादुर पौडेललाई सैनिक इन्टेलिजेन्स निर्देशनालयको निमित्त निर्देशक तोकिएको छ।

त्यस्तै, नम्बर ६ बाहिनी अड्डाका रोजप्रताप जबरालाई भर्ना छनौट निर्देशनालयको निमित्त निर्देशक तोकिएको छ। नम्बर १४ बाहिनी अड्डाका राजेन्द्र श्रेष्ठलाई निमित्त चिफ अफ स्टाफका रूपमा पश्चिम पृतना हेडक्वार्टर पठाइएको छ।

मध्यपृतना हेडक्वार्टरमा निमित्त चिफ अफ स्टाफको जिम्मेवारी नम्बर ३ बाहिनी अड्डाका नरेन्द्र मल्ललाई दिइएको छ भने पश्चिम पृतना हेडक्वार्टरका अर्जुन खड्कालाई नम्बर २३ बाहिनी अड्डामा निमित्त बाहिनीपति नियुक्त गरिएको छ।

यसैगरी, मध्यपृतना हेडक्वार्टरका सहायक रथी सुवासजंग थापालाई नम्बर ६ बाहिनी अड्डा, बैरेनीमा निमित्त बाहिनीपतिको रूपमा खटाइएको छ। सैनिक इन्टेलिजेन्स निर्देशनालयका अमृतकाजी गुरुङलाई नम्बर ३ बाहिनी अड्डा, पोखराको जिम्मेवारी दिइएको छ भने मध्यपश्चिम पृतना हेडक्वार्टरका निर्जलबहादुर अधिकारीलाई नम्बर २६ बाहिनी अड्डामा सरुवा गरिएको छ।

सैनिक सचिव विभागको अतिरिक्त समूहमा रहेका कर्णेल प्रशान्तविक्रम राणालाई नम्बर ४ बाहिनी अड्डामा निमित्त बाहिनीपति तोकिएको छ। उपत्यका पृतना हेडक्वार्टरका कर्णेल मनोज थापालाई नम्बर १४ बाहिनी अड्डामा निमित्त बाहिनीपतिको जिम्मेवारी दिइएको छ। नेपाली सेनाले समयसमयमा अधिकृतहरूको जिम्मेवारी हेरफेर गर्दै आएको छ। यसपटकको सरुवाले सेनाभित्रको संरचनागत व्यवस्थापनलाई प्रभावकारी बनाउने सेनाका एक अधिकारीले बताएका छन्।