काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७, क्षेत्रपाटी बसोबास गर्दै आएका भारत बिहारका ४१ वर्षीय नुनु राय हुन् ।
साइबर ब्यूरोका अनुसार रायले फेसबुकमार्फत एक महिलासँग मित्रता गरेका थिए। सम्बन्ध गहिरिएपछि भेटघाटका क्रममा भएका अन्तरंग क्षणहरू उनले गोप्य रूपमा रेकर्ड गरेका थिए। पछि आपसी विवाद भएपछि ती सामग्री पीडित महिलाका आफन्त तथा साथीभाइलाई म्यासेन्जरमार्फत पठाई चरित्र हत्या गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
घटनाको अनुसन्धानलाई अघि बढाउन जिल्ला अदालत काठमाडौंबाट रायविरुद्ध ७ दिनको म्याद थप अनुमति लिइएको छ। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गरिँदैछ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र कसैको गोपनीयता भंग गर्ने कार्य कानुनी अपराध हुने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।