जेरुसलेम – इजरायलले प्यालेस्टिनी समूह हमासलाई बाँकी रहेका बन्धकहरूको शीघ्र रिहाइ नगरे गाजा क्षेत्रमा थप सैन्य कारबाही गर्ने चेतावनी दिएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजाका स्थानीयलाई क्षति पुर्याउने कुनै नियत नभएको तर बन्धकहरूको रिहाइमा कुनै सम्झौता नगर्ने चेतावनी दिएका छन्।
'गाजाका बासिन्दाहरू, यो अन्तिम चेतावनी हो,' उनले एक भिडियो सन्देशमा भने, 'यदि सबै इजरायली बन्धकहरूलाई रिहा गरिएन र गाजाबाट हमासलाई हटाइएन भने, इजरायलले तपाईंले कहिल्यै अनुभव नगरेको शक्ति प्रयोग गर्नेछ। अमेरिकी राष्ट्रपतिको सल्लाह लिनुहोस्। बन्धकहरूलाई फिर्ता गर्नुहोस् र हमासलाई हटाउनुहोस्।' उनको भनाइ अनुसार त्यसो गरे गाजाबासीका लागि अन्य विकल्पहरू खुला हुनेछन्।
युद्धविराम टुटेपछि आक्रमण तीव्र
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै साताको सुरुमा हमासविरुद्ध पूर्ण शक्तिका साथ लडाइँ गर्ने बताएका थिए। उनले पछिल्ला आक्रमणहरू सुरुवात मात्र भएको दाबी गरेका छन्।
यसै सन्दर्भमा इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा हवाई तथा स्थल आक्रमण तीव्र बनाएको छ। बीबीसीका अनुसार गत तीन दिनमा इजरायली आक्रमणमा कम्तीमा ५ सय १५ प्यालेस्टिनी मारिएका छन् भने ७ सय भन्दा बढी घाइते भएका छन्।
आईडीएफले बुधबार राति र बिहीबार बिहान दक्षिणी गाजाको खान युनुस, रफाह सहर तथा उत्तरी बेत लाहियामा आक्रमण गरेको छ, जसमा कम्तीमा ८५ जना मारिएका छन्। सोमबार र मंगलबार गरिएका आक्रमणमा ४ सय ३० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका थिए, जसमध्ये सय भन्दा बढी बालबालिका तथा महिला छन्।
युद्धविराम सम्झौतामै विवाद
१९ जनवरीमा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो, जसअनुसार तीन चरणमा बन्धकहरूको आदानप्रदान तथा गाजाको पुनर्निर्माण गर्ने योजना थियो। पहिलो चरणमा ३३ इजरायली बन्धकहरूको रिहाइको बदला १ हजार ९ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनुपर्ने थियो। तर, सम्झौताको पूर्ण कार्यान्वयनमा अवरोध आएपछि युद्ध पुनः चर्किएको हो। इजरायल र अमेरिकाले युद्धविरामको अवधि बढाउन जोड दिएका थिए, तर हमास सहमत नभएपछि संघर्ष पुनः सुरु भएको हो। नेतान्याहुले बाँकी बन्धकहरूको फिर्तीका लागि सैन्य कारबाही आवश्यक रहेको बताएका छन्। तर, बन्धकहरूका परिवारहरूले इजरायली सरकारको आलोचना गर्दै आफ्ना प्रियजनहरूको सुरक्षामा वेवास्ता गरिएको आरोप लगाएका छन्।
मानवीय संकट गहिरिँदै
दुवै पक्षबीचको तनावले गाजामा मानवीय संकटलाई थप गम्भीर बनाएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले तत्काल युद्धविराम र कूटनीतिक वार्ताको आवश्यकता औंल्याएका छन्। स्थायी शान्तिका लागि इजरायल र हमास दुवैले लचिलो तथा संवेदनशील दृष्टिकोण अपनाउनु पर्ने आवश्यक देखिन्छ।