विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभामा दुई तिहाई पुगेपछि मात्रै संविधान संसोधन गर्न सकिने बताएका छन् । प्रेस चौतारी नेपालको विराटनगरमा आइतबारबाट सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा पोखरेलले अहिले दुई ठूला दल मिलेर मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै संविधानलाई सर्वस्विकार्य बनाउन सरकार गठन गरेर काम गरिरहेको बताएका हुन् । 

‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र भएको भन्दा राजा हुँदा ठिक भनेर भ्रम फैलाउने काम भइरहको छ,’ उनले भने, ‘जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्वीकार्य हुँदैन । यस्तो सपना कसैले नदेखे हुन्छ ।’

महासचि पोख्रेलले राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क गर्न कसैले नसक्ने बताए । पञ्चायत कालमा भएका विकास निर्माण र अहिलेको विकास निर्माणको उदाहरण दिँदै राजतन्त्र र पञ्चायत ठीक भनेर मूर्खहरूले पनि भन्न नसक्ने उनले टिप्पणी गरेका छन् ।

‘आज कतिपय राजावादीहरू भन्ने गर्दछन्, आज मुलुकको सङ्कटको कारण त संघीय लोकतान्त्रिक गणतन्त्र हो, केका आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन्, मलाई अनौठो लाग्छ,’ पोखरेलले भने, ‘राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन् । राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन् । आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कुतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन् ।  त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ । मिडियाले पनि तथ्यका आधारमा भ्रम चिर्नुपर्छ ।’ लोकतन्त्र नै खतारमा परेका बेला लोकतान्त्रीक दल मिलेको विगत सम्झिन उनले आग्रह गरे । 

‘राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न सक्दैन,’ उनले भने, ‘विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति होइन । च्याउ जसरी दल उम्रनु राम्रो होइन त्यसैले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा हामी जानुपर्छ ।’

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेको प्रेस चौतारीले जनाएको छ । यो महाधिवेशनले प्रेस चौतारीको नयाँ नेतृत्व चयन गर्छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रेस चौतारीको नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि निर्देशन दिए पनि निर्वाचन प्रक्रियाबाट मात्रै नेतृत्व चयन हुने अवस्था देखिएको छ । 

प्रेस चौतारीको नयाँ नेतृत्वका लागि ओलीको अर्थात् संस्थापन पक्षबाट गणेश पाण्डेलाई अघि सारिएको छ भने इत्तर पक्षबाट चौतारीको वर्तमान महासचिव राजे राईलाई अघि सारिएको हो । दुबै जनाले आ–आफ्ना प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । उनीहरुले महाधिवेशनमा आएका प्रतिनिधिहरुसँग भोट पनि माग्न थालेका हुन् ।