वीरगन्ज – माध्यमिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन आइतबार जाँचमा अनियमितता भएको भन्दै पर्सामा केन्द्राध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल नेतृत्वको जिल्ला परीक्षा समन्वय समितिको टोलीले वीरगन्जको सुर्जीदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अनुगमनका क्रममा अमर्यादित गतिविधि भएको पाइएपछि केन्द्राध्यक्षसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो ।
प्रजिअ अर्यालका अनुसार पक्राउ पर्नेहरूमा केन्द्राध्यक्ष नन्दकिशोर राम, सहायक केन्द्राध्यक्ष, एक निरीक्षक, र दुई कर्मचारी छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ । परीक्षामा अनियमितता देखिएको भन्दै परीक्षा समन्वय समितिले उक्त परीक्षा केन्द्रको सम्पूर्ण टोली परिवर्तन गर्ने निर्णय गरेको छ ।
पहिलेदेखि नै अनियमितता हुँदै आएको खुलासा
यसअघि पनि पर्सामा परीक्षामा अनियमितता भएको पाइएको थियो । एसईईको पहिलो र दोस्रो दिन समेत परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै एक केन्द्राध्यक्ष र तीन निरीक्षक कारबाहीमा परेका थिए । गत शुक्रबार वीरगन्जको माइस्थान विद्यापीठ मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई परीक्षा समन्वय समितिले कारबाही गर्दै आइतबारदेखि परीक्षा केन्द्र प्रवेशमा रोक लगाएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव, सिद्धार्थ माविका धर्मेन्द्र यादव र रामबालक यादवलाई पनि कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । परीक्षाको निष्पक्षता सुनिश्चित गर्न कडाइ अपनाइने तथा दोषीमाथि थप कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।