काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई कीर्तिपुरबाट नियन्त्रणमा लिएको हो । पक्राउ पछि उनलाई अदालतमा पेश गरी डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणमा संलग्न रहेका योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुज श्रेष्ठलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो ।

अदालतले उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २० हजार रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दिएको थियो । यसअघि, उच्च अदालतले २२ माघमा जिल्ला अदालतको फैसला सदर गर्दै दोषीहरूलाई कैद सजाय कायम राख्ने निर्णय गरेको थियो । तर, क्षतिपूर्तिको रकम २८ लाख रुपैयाँबाट घटाएर २४ लाख रुपैयाँ तोकिएको थियो ।

उक्त घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझा भने निर्दोष ठहरिएका थिए । उनलाई सफाइ दिने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले समेत सदर गरेको छ । २०७७ सालमा त्रिवि परिसरमै उपप्राध्यापक चलाउनेमाथि कुटपिट भएको थियो । उक्त घटनाका मुख्य योजनाकार हरिप्रसाद आचार्य फरार भएर अमेरिका पुगेका छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलियामा छन् । रावल पनि लामो समयदेखि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि उनलाई पक्राउ गरिएको हो । उनी आफूलाई त्रिभुवन विश्वविद्यालय नेविसंघका विद्यार्थी नेताका रूपमा चिनाउँदै आएका छन् ।