तुलसीपुर (रासस) — दृष्टिविहीन श्रीमती र छोराहरूको सहज आवतजावतका लागि चन्द्रवीर वलीले दुई वर्षसम्म एक्लै बाटो खने। न कसैको सहयोग पाए, न त कसैले चासो नै दियो। तर अहिले त्यही गोरेटो पक्की सडकमा परिणत भएको छ।
तुलसीपुर उपमहानगरपालिका–3 साततलेका ७० वर्षीय चन्द्रवीर वलीले राप्ती लोकमार्गसम्म पुग्न सहज होस् भनेर दुई किलोमिटर लामो गोरेटो खनेका थिए। विसं २०७३ मा उनले एक्लै गरेको संघर्षको प्रतिफलस्वरूप आज त्यहाँ गाडी, अटो, मोटरसाइकलहरू चल्न थालेका छन्। त्यही बाटो खमारी जाने छोटो मार्ग बनेको छ।
'श्रीमती पनि दृष्टिविहीन, छोराहरू पनि देख्दैनथे, बजार जान बाटो थिएन,' वलीले भने, 'श्रीमती र छोराहरू लड्लान् भन्ने डरले बाटो खनेको थिएँ, अहिले गाडी नै गुड्न थाले।' वलीका पाँच छोरा र एक छोरीमध्ये एक छोरा र छोरीको सानैमा मृत्यु भयो। बाँकी चार छोरामध्ये कान्छा बाहेक तीन जना दृष्टिविहीन छन्। जेठो छोरा काठमाडौंको दोहोरी साँझमा काम गर्छन् भने माइला छोरा तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन्। कान्छा छोरा काठमाडौंमै दृष्टिविहीनहरूलाई बाटो देखाउने काम गर्छन्।
वली परिवार अहिले सहयोगी मन भएका व्यक्तिहरूको सहारामा गुजारा चलाइरहेका छन्। 'कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ,' वली भन्छन्, 'जो आउनुहुन्छ, उहाँहरूले चामल, दाल ल्याइदिनुहुन्छ। यसरी नै हाम्रो जीवन चलेको छ।'