काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्यका रूपमा चयन गरिएको छ ।

उक्त समितिले नेपाल राष्ट्र बैंकको आगामी गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ जसमा हालका डेपुटी गभर्नरमध्ये कम्तीमा एक जना समावेश हुनेछन् । समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ । 

हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैत २५ गते (अप्रिल ७, २०२५) मा समाप्त हुँदैछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार, गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ । 
यसरी सरकारद्वारा गठित सिफारिस समितिले निर्धारित मापदण्डहरूका आधारमा योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ, जसबाट मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्नेछ ।