इटहरी– तरहरामा राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुन लागृको छ । २०८२ वैशाख १२ गतेदेखि ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ ।
श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका विद्यार्थी समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सय पुरस्कार राशी प्रदान गरिने विद्यार्थी समूहका अध्यक्ष सन्तोष श्रेष्ठले बताएका छन् । द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिने उनले बताएका हुन् । प्रतियोगिताका अन्य उत्कृष्ट पाँच जना कविलाई नगद पाँच हजार एक सयका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
कवि र कविताको प्रवद्र्धन, विकास र समृद्ध बनाउनुका साथै नेपाली भाष साहित्य क्षेत्रको उन्नयनका लागि राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएका उनको भनाइ छ । प्रतियोगितामा सहभागिताका लागि चैत मसान्तसम्ममा इमेल ठेगाना [email protected] मा कविता पठाउन उनले आह्वान गरेका हुन् ।
कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको मौलिक र अप्रकाशित/अप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पढाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।
उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको समतिले तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचन पश्चात् पुरस्कृत गरिने छ ।