विराटनगर– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्धविरामको भ्रम सिर्जना गर्दै केही स्थानहरूमा सैन्य गतिविधि जारी राखेको आरोप लगाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘इस्टर युद्धविराम’को आदेश दिएपछि पहिलो ६ घण्टाभित्रै ३८७ पटक तोपगोलाबारी, १९ आक्रमण र २९० पटक ड्रोन प्रयोग भएको जेलेन्स्कीले बताए । अहिलेसम्म मानवीय क्षतिको प्रतिवेदन आएको छैन ।
पुटिनले मस्को समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म युक्रेनमा सबै सैन्य गतिविधि रोक्न आदेश दिएका थिए । कीभले पनि युद्धविरामको पालना गर्ने जनाएको थियो ।
बीबीसी युक्रेनका अनुसार युद्धको मोर्चामा केही शान्ति देखिएको छ । तर पुटिनको आदेश लागू हुनु केही मिनेटअघि मात्र घोषणा भएकाले पूर्ण शान्तिको अपेक्षा तुरुन्त गर्न सकिने अवस्था थिएन ।
शनिबार मध्यरातसम्म युक्रेनी आकाशमा कुनै रूसी ड्रोन वा लडाकु विमान नदेखिएको उल्लेख गरिएको छ जुन निकै दुर्लभ अवस्था हो । एउटा मात्र प्रतिवेदन अनुसार कालो समुद्रमा क्षेप्यास्त्र बोकेको रूसी युद्धपोत तैनाथ गरिएको थियो ।
ओडेसा सहरमा पनि रातभरि शान्ति रहेको जनाइएको छ । शुक्रबारको रात भने पुटिनको घोषणा हुनुअघि रुसी ड्रोनहरू अधिकृत क्राइमियाबाट प्रवेश गर्दा हवाई सुरक्षा प्रणाली सक्रिय भएको थियो ।
आइतबार बिहान जेलेन्स्कीले भने, ‘रुसले युद्धविरामको भ्रम सिर्जना गर्न खोजिरहेको छ, तर केही स्थानमा त्यसले आफ्नो आक्रमण र युक्रेनलाई क्षति पुर्याउने प्रयास छोडेको छैन ।’ उनले थपे, ‘हाम्रा लडाकुहरूले जहाँ आवश्यक छ, त्यहीँ युद्धको परिस्थिति अनुसार शत्रुलाई आवश्यक जवाफ दिइरहेका छन् ।’ शनिबार रात, युद्धविराम लागु भएको केही घण्टापछि जेलेन्स्कीले भने, ‘यदि रुस साँच्चिकै पूर्ण र सर्तरहित शान्तिको ढाँचामा प्रवेश गर्न तयार छ भने, युक्रेनले पनि त्यसअनुसार व्यवहार गर्नेछ ।’
उनले सामाजिक सञ्जाल ’एक्स’मा लेखे, ‘हाम्रा प्रतिक्रिया समान हुनेछ । पूर्ण र सर्तरहित ३० दिने युद्धविरामको प्रस्ताव अझै पनि कायम छ — यसको उत्तर मस्कोबाट आउनुपर्छ ।’ जेलेन्स्कीले युक्रेन २० अप्रिलपछि पनि युद्धविराम लम्ब्याउन तयार रहेको बताए जसले अमेरिकाको तर्फबाट राखिएको ३० दिनको युद्धविराम प्रस्तावलाई संकेत गर्छ । युक्रेनले पहिले नै उक्त प्रस्तावमा सहमति जनाइसकेको थियो ।
अब मस्को र कीभ दुबैले अमेरिका सामु शान्तिका लागि गम्भीर रहेको देखाउने प्रयास गरिरहेको देखिन्छ । तर ३० घण्टे युद्धविरामलाई ३० दिनमा परिणत गर्ने जेलेन्स्कीको प्रस्ताव मानेर के्रेमलिन अघि बढ्छ वा होइन भन्ने कुरा सम्भावित शान्तिको बाटोमा निर्णायक हुनेछ ।
तर धेरै युक्रेनीहरू यस्तो सम्भावनालाई निकै न्यून देख्छन् । पुटिनले आफ्नो सेनापति भ्यालेरी गेरासिमोभसँगको बैठकमा अस्थायी युद्धविरामको घोषणा गरेका थिए । उनले भने, ‘मानविय आधारमा…रुस पक्षले इस्टर युद्धविरामको घोषणा गर्छ । म सबै सैन्य गतिविधि रोक्न आदेश दिन्छु ।’
‘हामी विश्वास गर्छौं कि युक्रेनले पनि हाम्रो उदाहरण पछ्याउनेछ । त्यसैबीच हाम्रो सेना युद्धविराम उल्लंघन र सम्भावित आक्रमणको प्रतिकार गर्न तयार हुनुपर्छ ।’ रुसी रक्षा मन्त्रालयले पनि युद्धविराम ‘दुवै पक्षबाट सम्मान गरिएमा मात्र’ लागू हुने बताएको छ । यसअघि पनि २०२३ को जनवरीमा अर्थोडक्स क्रिसमसको अवसरमा युद्धविरामको प्रयास गरिएको थियो तर सहमति नजुट्दा त्यो प्रयास असफल भएको थियो ।
पुटिनको घोषणामा बेलायतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै भनेको छ, ‘पुटिनले यदि साँच्चै शान्तिमा गम्भीर छन् भने उनले आफ्नो भयानक आक्रमण अन्त्य गरेर युक्रेनी सरकारको मागअनुसार पूर्ण युद्धविराममा प्रतिबद्ध हुनुपर्छ — केवल इस्टरका लागि एक दिनको विरामले पर्याप्त छैन ।’
रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो । यस युद्धमा सयौं हजार मानिस — अधिकांश सैनिक — मारिएका वा घाइते भएका छन् । युद्ध अन्त्य गर्न अमेरिकाले रुससँग प्रत्यक्ष वार्ता गरिरहेको भए पनि ठूला उपलब्धि हासिल गर्न सकेको छैन ।
गत महिना मस्कोले अमेरिका र युक्रेनबीच सहमति भएको पूर्ण र सर्तरहित युद्धविरामको प्रस्ताव अस्वीकार ग¥यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने, ‘यदि चाँडै प्रगति नभएमा अमेरिका युक्रेन युद्धको वार्ता प्रक्रियाबाट पछि हट्नेछ ।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘हामी हप्तौँ र महिनौँ यो प्रयास जारी राख्नेवाला छैनौँ किनभने हामीसँग ध्यान दिनुपर्ने अन्य प्राथमिकताहरू पनि छन् ।’ ‘हामीले धेरै चाँडै — केही दिनभित्रै — निर्णय गर्नुपर्छ कि यो सम्भव छ वा छैन । यदि सम्भव छैन भने हामी अगाडि बढ्नेछौं,’ उनले भने ।