विराटनगर– अमेरिकाले देश निकाला गरेका तीन भुटानी शरणार्थी झापामा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दमक–३, बेलडागी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ हुन् ।
प्रहरी टोलीले शनिबार दिउँसो २ बजे बेलडागी शिविरबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो । अमेरिकाले उनीहरूलाई देश निकाला गर्दै भुटान फिर्ता पठाएको थियो । तर उनीहरु भुटान नगइ पुनः नेपाल फर्केर शिविरमा बसेका थिए ।
प्रहरीको अनुसार उनीहरू झापाकै सीमा नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गरेका हुन् । अमेरिकाबाट फिर्ता पठाइएका भुटानीहरू विभिन्न देश हुँदै भारत आइपुगेका थिए ।
भारतले समेत भुटानी शरणार्थीलाई शरण नदिने भएपछि उनीहरू नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । यसै कारण नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निकायहरूले उच्च निगरानी बढाएका छन् । पक्राउ परेका तीन जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अध्यागमन कार्यालय, काँकडभिट्टा बुझाइएको प्रहरीले भनेको छ ।