काठमाडौं — शुक्रबार चन्द्रागिरिस्थित घरबाट रिपोर्टिङका लागि निस्कँदै गर्दा पत्रकार सुरेश रजक (३४) ले दाजु दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु, तपाईं पनि चाँडो आउनू होला।’ तर त्यो सुरेशको अन्तिम बिदाइ साबित भयो।

तीन महिनाअघि मात्र चन्द्रागिरिमा बसाइँ सरेका तीन दाजुभाइमध्ये सुरेश र दिनेश पत्रकारिता पेशामा थिए। शुक्रबारको दिन उनीहरू राजा समर्थकहरूको प्रदर्शन कभर गर्न निस्किएका थिए।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा भिडले एक भवनमा आगजनी गर्‍यो। एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश उक्त दृश्य कैद गरिरहेका थिए। आगो लागेपछि उनी त्यहाँबाट निस्कन सकेनन् र घटनास्थलमै जलेर ज्यान गुमाए।

उनका सहकर्मी अनिल रायमाझीका अनुसार सुरेशले प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका थिए। अश्रुग्यास प्रहारपछि उनी केहीबेर चिया पसलमा बसे। तर फेरि भवनभित्र प्रवेश गरी रिपोर्टिङ गर्न गएका उनी बाहिर निस्कन पाएनन्। अनिलका अनुसार सुरेशलाई जोगाउन सकिने अवस्था भए पनि सुरक्षा निकायले समयमा उचित कदम नचालेको आरोप छ।

घटनास्थलमा रहेका अनिलले प्रहरीलाई पटक-पटक सहयोगका लागि गुहार गरे। तर प्रहरी निरीह बनेर हेरिरहेको आरोप छ। आगलागी नियन्त्रणका लागि आएको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि उद्धार कार्य ढिलाइ भयो।

बचाउन सकिने अवस्थामा पनि सुरेशलाई मृत्युवरण गर्नुपर्‍यो भन्ने परिवारको आरोप छ। उनका दाजु दिनेश भन्छन्, ‘उनी नियोजित रूपमा मारिएका हुन्। प्रहरीले समयमै पहल गरेको भए भाइलाई बचाउन सकिन्थ्यो।’ परिवारले उनलाई सहिद घोषणा गर्न, छानबिन गरी दोषीलाई कारबाही गर्न र उचित क्षतिपूर्ति दिन माग गरेका छन्।

सुरेश वैदेशिक रोजगारीका क्रममा मलेसियामा थिए। आमा बितेपछि उनी नेपाल फर्के र पत्रकारिता सुरु गरे। माउन्टेन टेलिभिजन हुँदै एभिन्युज टेलिभिजनमा आबद्ध भएका उनी निडर र इमानदार पत्रकारका रूपमा परिचित थिए।

त्यसै दिन प्रदर्शनकै क्रममा २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भयो। बल्खुमा गाडी मर्मतका लागि निस्केका उनी कसरी प्रदर्शनस्थलमा पुगे भन्ने खुलेको छैन। प्रहरीले प्रदर्शनकारीको आक्रमणबाट जोगिन गोली चलाएको र त्यस क्रममा सविनलाई लागेको दाबी गरेको छ। तर परिवारले यो स्वीकार गर्न सकेका छैनन्।

‘सरकारले चलाएको गोलीले ज्यान गयो, अब न्याय पनि सरकारले नै दिनुपर्छ,’ मृतक सविनकी पत्नी भविषाले भनिन्।

दुवै मृतकका परिवारले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्ति माग गरेका छन्। पत्रकार महासंघ, मानवअधिकार आयोग तथा अन्य संस्थाहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै सरकारलाई दबाब दिइरहेका छन्।

अब प्रश्न उठ्छ— सुरक्षाकर्मीको लापरबाहीका कारण सुरेश र सविनको ज्यान गएको हो कि उनीहरूको मृत्यु नियोजित हत्या थियो ? के सरकारले दोषीहरुमाथि कडा कारबाही गर्छ ? यी प्रश्नहरूको जवाफ न्यायिक छानबिनपछि मात्र खुल्नेछ।