काठमाडौँ — राजावादीको हिंसात्मक झडपले राजधानी काठमाडौं अशान्त बनिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ‘नेसनल जियोग्राफिक’ लेखिएको विशेष बोइङ–७५७ हवाईजहाजले सर्वसाधारणको ध्यान तान्यो । धुम्मिएको आकाश र अशान्त वातावरणबीच पहेँलो रंगको चम्किलो लोगोयुक्त उक्त वायुयानले उत्सुकता मात्रै होइन, नेपाली पर्यटन व्यवसायमा पनि नयाँ आशा थप्यो ।
अमेरिकाको सियाटलबाट चार्टर गरिएको उक्त विमान शुक्रबार बिहान काठमाडौं अवतरण गरेको थियो । विमानबाट ७७ जना उच्च वर्गीय अमेरिकी पर्यटकहरू नेपालभूमिमा आएका थिए । यिनीहरू ‘नेसनल जियोग्राफिक’का सहयोगी दाताहरू र संस्थासँग आबद्ध भूतपूर्व कर्मचारीहरू रहेको बताइएको छ।
उनीहरूको नेपाल भ्रमण व्यवस्थापन यति होलिडेजले गरेको हो । कम्पनीका कार्यकारी निर्देशक हेमन्त कोलाक्षपतिका अनुसार पर्यटकहरूले काठमाडौं उत्रिएलगत्तै बौद्ध गुम्बा पुगेका थिए जहाँ उनीहरूले महँगा पेन्टिङ, पश्मिना, र सिंगिङ बाउल खरिद गरेका थिए । त्यसपछि उनीहरू बत्तीसपुतलीस्थित पाँचतारे होटल द्वारिकाज् पुगेका थिए ।
त्यसै दिन भक्तपुर दरबार क्षेत्रको भ्रमण पनि भएको थियो भने शनिबार बिहान केहीले पशुपति क्षेत्रमा घुमघाम गरेका थिए । दिउँसो सबै जना भुटान एयरलाइन्सको विमानमार्फत पारो प्रस्थान गरेका थिए । विशेष बोइङ भुटानमा अवतरण गर्न नसक्ने भएकाले उनीहरू अर्को उडानमार्फत पठाइएको हो ।
भुटान भ्रमण सकेर सोमबार फर्केका ती पर्यटकहरू त्यही बोइङमार्फत भारतको वाराणसी हुँदै आग्रातर्फ गएका छन् । त्यसपछि उनीहरू कम्बोडिया, थाइल्यान्ड, बेलायत हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको यति होलिडेजले जनाएको छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाका अनुसार यस्ता लक्जरी पर्यटक प्रायः नेपालमा कमै आउँछन । ‘स्तरीय सडक, नियमित हवाई सेवा र उच्चस्तरीय पूर्वाधार निर्माणमा लगानी भएमा नेपालमा हाई–एन्ड पर्यटकहरूको आगमन बढ्न सक्छ,’ अध्यक्ष थपलियाले भने ।
उक्त समूहको भ्रमणबाट पर्यटन क्षेत्रमा मात्र नभइ नेपाल वायुसेवा तथा सेवा क्षेत्रले समेत आर्थिक लाभ लिएको छ । बोइङ–७५७ हवाईजहाजले काठमाडौं विमानस्थलमा रहँदा दैनिक पार्किङलगायतका शुल्कमा ८ लाख रुपैयाँ बुझाएको छ भने होटल बसाइ, खानपान तथा किनमेलमा उनीहरूले दैनिक ४० देखि ४५ हजार अमेरिकी डलर, अर्थात् ६१ लाख रुपैयाँसम्म खर्चेका छन् ।