विराटनगर– मकैबाली जोगाउन जंगली जनावरलाई लक्षित गरी थापिएको धरापमा परेर गोलबजार–९, गोविन्दपुरमा घाँस काट्न गएकी सिरहाकी १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको खुलेको छ । 

घटनासँग सम्बन्धित आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय वीरबहादुर सार्कीलाई चैत २४ मा पक्राउ गरेर सिरहा जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा सात दिनको म्याद समेत लिइसकेको छ । गएको फागुन २९ मा बिहानदेखि हराएकी गुलसना चैत १२ मा सडेगलेको अवस्थामा फेला परेकी थिइन् । उनी घर नफर्किएपछि भोलिपल्ट आमाले मिर्चैया प्रहरीमा उजुरी दिएकी थिइन् ।

१३ दिनसम्म हराएकी बालिकाको शव गोलबजार नजिकैको घुर्मी खोलाको किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि मिर्चैया प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी )  र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा घटनास्थलबाट बालिकाले प्रयोग गरेको हँसिया समेत फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार फागुन २९ को बिहान करिब ९ बजे सार्कीले थापेको धरापमा बालिका परेपछि उनले घटनालाई लुकाउने उद्देश्यले शव बोरामा हालेर खोलाको किनारमा गाडेका थिए ।

सडेगले पनि मृतककी काका पर्ने सफिजुल रहमानले पहिचान र सनाखत गरिदिएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो । 

सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानको क्रममा खुलासा भएको प्रहरीले जनाएको छ । घटनापछि बालिका तारनजिक लडिरहेको सार्कीले देखेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सार्कीले कानुनी कारवाहीबाट बच्न बोरामा हालेर शवलाई खोला किनारनजिक खाल्डो खनी पुरेका थिए ।