विराटनगर– उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आइतबार राति आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १ सय १८ भन्दा बढी घाइते भएका छन्, अधिकारीहरूले बताएका छन्।

स्थानीय कोचानि सहरको पल्स क्लबमा आगलागी भएको थियो। कोचानि राजधानी स्कोप्जेदेखि करिब १०० किलोमिटर (६० माइल) पूर्वमा अवस्थित छ।

डिएनके  नामक लोकप्रिय हिप-हप जोडीको कन्सर्ट हेर्न करिब १ हजार ५ सय उपस्थित उपस्थित थिए । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा भवनको छाना आगोले पुरै ढाकिएको देखिन्छ।

प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीले यस घटनालाई दु:खद र अत्यन्त गम्भीर दिन भन्दै मुलुकले धेरै युवा जीवनहरू गुमाएको बताए।

गृह मन्त्री पान्से तोस्कोभस्कीले प्रारम्भिक रिपोर्टहरू अनुसार आगो पटाका जस्ता आतिशबाजी उपकरणबाट निस्किएको झिल्काका कारण लागेको बताए।

कोचानि प्रहरी चौकीबाहिर बोल्दै उनले भने, `झिल्काहरू क्लबको छानामा परे, जुन अत्यधिक ज्वलनशील पदार्थले बनेको थियो।`

भिडियो फुटेजमा देखिए अनुसार, ब्याण्ड मञ्चमा प्रस्तुति दिइरहेका बेला दुईवटा फ्लेयर पड्किएका थिए। त्यसपछि छानामा आगो सल्किएको र तीव्र गतिमा फैलिएको थियो।

बीबीसीद्वारा प्रमाणित फुटेज अनुसार, क्लबको नृत्य स्थल माथिको छानामा आगो देखिन्छ, मानिसहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर क्लबभित्र उपस्थित धेरै व्यक्तिहरू भाग्नुको सट्टा आगो निभाउने प्रयास हेर्दै बसेको देखिन्छ।

कोचानि अस्पतालले प्रारम्भमा ९० जना घाइते भर्ना भएको बताएको थियो, जसमा धेरैजना गम्भीररूपमा जलेका थिए। केही घाइतेहरूलाई थप उपचारका लागि स्कोप्जेको अस्पतालमा सारिएको छ।

स्वास्थ्य मन्त्रीका अनुसार १८ जनाको अवस्था गम्भीर छ। कोचानि अस्पतालका निर्देशक क्रिस्टिना सेराफिमोवाले स्थानीय मिडियालाई जानकारी दिँदै भने, `चिनजानपत्र नभएकाले घाइतेहरूलाई पहिचान गर्न कठिन भइरहेको छ।` साथै उनले मृतकहरूको उमेर १४ देखि २४ वर्षको रहेको बताइन्। प्रधानमन्त्रीको विज्ञप्तिमा सरकार पूर्ण रूपमा परिचालित भई आवश्यक सबै उपाय अपनाउने बताएको छ। गृह मन्त्रीका अनुसार घटनासँग सम्बन्धित एक जना पक्राउ परिसकेको छ, तर थप विवरण दिइएको छैन। सन् २००२ मा गठन भएको डिएनके हिप-हप जोडी पछिल्लो दशकमा देशभर लोकप्रिय रहँदै आएको छ।