जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि नेकपा (एमाले) र नेपाली काँग्रेसको संयुक्त सरकारबाट राजनीतिक समिति बनाइने घोषणा गरेका छन् । मधेस प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको अनुभवका आधारमा वर्तमान व्यवस्थालाई अझ सबल बनाउने उद्देश्यले उपयुक्त समयमा संविधान संशोधन गरिने स्पष्ट पारे ।
‘सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्नका लागि संविधान संशोधन गर्छौं,’ ओलीले भने, ‘तर प्रगतिको ढोका खोल्ने नाममा प्याण्डोराको बाकस खोलेजस्तो संशोधन गर्दैनौं ।’ उनले पछिल्लो समय राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्ने विचार फैलाउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘नयाँ पुस्तालाई निरंकुश राजतन्त्रको कालो इतिहास थाहा छैन, त्यसैले भ्रम फैलाउने कोसिस भइरहेको छ । गणतन्त्र हाम्रो वर्तमान र भविष्य हो, यसलाई उल्ट्याउने कुरा सम्भव छैन ।’
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान र संघर्षको जगमा स्थापित भएको स्मरण गराउँदै यस व्यवस्थालाई सुदृढ बनाउँदै अघि बढ्न सबै राजनीतिक पक्षले जिम्मेवारी वहन गर्नुपर्ने बताए । ‘यो व्यवस्थामा केही कमजोरी छन् होला, तर सुधार गर्दै अघि बढ्नु नै एक मात्र विकल्प हो,’ उनले भने, ‘संसदमा सपथ खाएर बाहिर संविधान नमान्ने कुरा गर्नु विरोधाभासी सोच हो । अब हामी अगाडि बढिसक्यौं ।’
दुई छिमेकी मुलुकहरूसँगको सम्बन्धबारे पनि प्रधानमन्त्री ओलीले प्रस्ट पारे, ‘सँगै सुतेपछि खुट्टा लाग्न सक्छ, तर खुट्टा हटाउँ भनेपछि कुरा सकिन्छ । अनावश्यक हल्ला भए पनि भारत र चीन दुवैसँग नेपालको सम्बन्ध असल छ ।’