काठमाडौँ– राजसंस्था पुनःस्थापनाका लागि संघर्षरत संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत १५ को घटनामा पक्राउ परेका नेताहरूको रिहाइ नभए सामूहिक गिरफ्तारीको चेतावनी दिएका छन् ।

काठमाडौँमा बुधबार आयोजित प्रतिवद्धता सभामा बोल्दै डा. गुरुङले वैशाख २१ सम्म तीनकुने घटनाका सबै पक्राउ परेकाहरूको रिहाइ तथा नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ देखि सामूहिक गिरफ्तारी अभियान थालिने घोषणा गरे । उनले सो अभियानको नेतृत्व आफूले नै गर्ने बताए ।

‘अब हाम्रो आन्दोलन भद्र अवज्ञा प्रकारको हुनेछ, अहिले सशस्त्र संघर्षको आवश्यकता छैन,’ उनले भने । गुरुङले राजावादी आन्दोलन कमजोर भएको भन्ने हल्ला राज्य पक्षबाट नियोजित रूपमा फैलाइएको आरोप लगाउँदै आफूहरू योजनाबद्ध ढंगले आन्दोलनको अर्को चरणको तयारीमा व्यस्त रहेको दाबी गरे ।

उनले वैशाख २१ देखि ’एक्सन मोड’ मा जाने चेतावनीसमेत दिए । त्यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ मा तीनकुनेमा आयोजित राजसंस्था पक्षधरहरूको सभालाई राज्यले नियोजित रूपमा हिंसात्मक बनाएको आरोप लगाए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी आरोप थुपार्ने काम गरिएको भन्दै यसले राजावादी आन्दोलनलाई बदनाम गराउने प्रयास भएको बताए । अध्यक्ष थापाले संघीय, धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधनको खेल भइरहेको भन्दै त्यसो भए देशमा आगो बल्ने चेतावनी दिए ।