दाङ — लुम्बिनी प्रदेशमा चैत २७ को साँझको हावाहुरीसहितको वर्षा र चट्याङका कारण एक किशोरीको ज्यान गएको छ । विभिन्न जिल्लामा सरकारी भवनसहित नागरिकको सम्पत्तिमा क्षति पुगेको छ ।
प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङका अनुसार रोल्पा नगरपालिका–१० कुटिबाङकी १५ वर्षीया किशोरी सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी थिइन् । सोही स्थानमा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै बाँकेको वनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीन कोठे भवनको टिनको छाना हावाहुरीले उडाइदिएको छ । यसैगरी पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनमा पनि क्षति पुगेको छ । वडाको टिनको छाना हुरीले उडाएको प्रहरीले जनाएको छ ।
बर्दियाको मधुवन नगरपालिका–१ मा रहेको शंकर रावलको फुसले छाएको दुई कोठे घरमा चट्याङ परेपछि आगलागी भइ घर जलेर नष्ट भएको छ । अन्य जिल्लाहरूमा भने वर्षा सामान्य मात्रामा भएको जनाइएको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायहरूद्वारा प्रभावित क्षेत्रमा क्षति विवरण संकलन भइरहेको छ । मौसमविद्हरूले यस्ता मौसमी प्रणाली अझ केही दिन कायम रहन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।