(विदेशबाट लेखिएको एक आर्तनाद)

– ईश्वर रेग्मी, संयुक्त अरब इमिरेट्स

आश थियो, त्यो भोटको थियो,
न कि नोट र चापलुसीको थियो।
आश थियो, समृद्ध नेपालको सपना थियो,
न कि भूकम्पपछिको जस्ता र त्रिपालको बाँडफाँड थियो।

आश थियो, बोल्न र लेख्न पाउने स्वतन्त्रताको,
न कि बेथिति बोलेकै भरमा थुनिने चाबीको थियो।
आश थियो, डाँडापाखामा पर्यटकको लस्कर लाग्ने,
न कि मानव तस्करीको थियो।

आश थियो, स्वदेशी उद्योग– गलैंचा र राडीमा रोजगारीको,
न कि पसिना बेच्न खाडी पुग्नुपर्ने बाध्यताको थियो।
आश थियो, 'सुखी नेपाली, समृद्ध नेपाल' को,
न कि नचिनिने ऐनभित्र लुकेको भ्रष्टाचारको थियो।

आश थियो, एक सानो रहरको,
न कि टाढाको परदेशी सहरको थियो।
आश थियो, आस्थाको, परिवर्तनप्रतिको भरोसाको,
न कि बेवास्ता, धोका र झूटको थियो।

आश थियो, एउटै मात्राको – साझा भविष्यको,
न कि कुर्सी र सत्ता खोज्ने राजनीतिक जात्राको थियो।

#आश