विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा महासंघका सात वटै प्रदेशमध्ये उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उत्कृष्ट भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलाई सम्मान पत्र हस्तान्तरण गरी महासंघ कोशी प्रदेशलाई सम्मान गरेको हो । 

नेपाल उद्योग वाणिज्य महासंघको सात वटै प्रदेशमध्ये उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उत्कृष्ट भएपछि सम्मान गरिएको महासंघ कोशीका निर्देशक श्याम भन्ने राधारमण भण्डारीले बताएका छन् । 

महासंघ कोशी प्रदेशले मोरङको बुढीगंगामा आफ्नै कार्यालय भवन निर्माण कार्य शुरु गर्नुका साथै स्विस परियोजना लगायतका संस्थासँगको सहकार्यमा उद्यमी निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । २ कठ्ठा क्षेत्रफलमा ४ करोड भन्दा बढी रुपैयाँको लागतमा अढाई तल्ले भवन निर्माण शुरु भएको छ । महासंघ कोशी प्रदेशले प्रदेशभित्रका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यावसायिक संघ–संस्थासँग सहकार्य गर्दै साना तथा मझौला उद्योग प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशनबीच भगिनी सम्बन्ध स्थापना, पहिलो कृषि एक्स्पो, ढाका महोत्सव लगायतका विभिन्न उद्योग, व्यापार प्रवर्द्धनको काम गर्दै आएको हो ।