विराटनगर– देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण हाल अधिकांश स्थानमा आंशिक बदली देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहन सक्ने महाशाखाको अनुमान छ।ती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै देशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।मधेस र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ भने एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।यस अवस्थामा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।