विराटनगर– सुनसरीको देवानगञ्जमा भएको गोली प्रहारको घटनामा सोमबार साँझ तीन जना घाइते भएका छन् । देवानगञ्ज गाउँपालिका–७ मा तीन राउन्ड गोली चल्दा शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव घाइते भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ वर्षीय शिवकुमार मेहताको अवस्था गम्भीर छ । पेटमा गोली लागेको मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टु यादवको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार देवानगञ्ज–७ का कामेश्वर यादवले सानो हतियार प्रयोग गरी तीन राउन्ड गोली चलाएका थिए । प्रारम्भिक अनुसन्धानमा पिन्टु यादवले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमार मेहतामाथि निशाना बनाइ गोली प्रहार गरिएको खुलेको छ ।
प्रहरीका अनुसार साँझ साढे छ बजेतिर देवानगञ्ज बजार पुग्नेबित्तिकै शिवकुमारमाथि गोली प्रहार भएको थियो । हालसम्म गोली चलाउने कारण पुष्टि हुन सकेको छैन । घटना पछि फरार कामेश्वर यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा आपसी वैरभाव वा दुस्मनीको कारण हुनसक्ने संभावना प्रहरीले व्यक्त गरेको छ ।