धनुषा –गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालय सम्हालेदेखि कुनै गलत कार्य भएको प्रमाणित भए राजनीतिबाट नै टाढा रहने घोषणा गरेका छन्।
शनिबार धनुषामा पार्टी कार्यकर्तासँगको छलफलमा मन्त्री लेखकले आफूमाथि उठेका शंका र आरोपप्रति स्पष्ट प्रतिक्रिया दिँदै भने, 'साथीहरू, आँत्तिनुपर्ने कुनै कारण छैन। जुन दिन म गृहमन्त्रालयमा आएँ र यदि कुनै गलत काम भयो भने त्यस दिनदेखि म राजनीतिमा देखिन्न ।'
उनले उठेका विषयहरूबारे तथ्यगत रूपमा छानबिन हुने विश्वास दिलाउँदै, घटनाका श्रोत र कारणबारे बुझिरहेकोले केही दिनदेखि चुप लागेको पनि स्पष्ट पारे। 'ट्विटरमा धेरै लेखिएको देखिन्छ। म चुप बसेको छु किनभने के, कहाँ, कसरी भइरहेको छ भन्ने बुझिरहेको थिएँ। धेरै कुरा थाहा भइसक्यो। अब काठमाडौँ फर्किएपछि विज्ञप्ति निकाल्छु र दुई चार दिनमै म आफैं पनि केही बोल्छु,' मन्त्री लेखकले भने।
लेखकले आफ्नो लामो राजनीतिक यात्रामा पार्टी र कार्यकर्तालाई निहुरिनुपर्ने अवस्था कहिल्यै नल्याएको दाबी पनि गरे।अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता देखिएपछि गृह मन्त्रालयले कडा कदम चालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका कर्मचारीहरूले मोटो रकम लिएर भिजिट भिसामा मानिस पठाउने कार्यमा संलग्न भएको पुष्टि भएपछि गृह मन्त्रालयले १५ जना कर्मचारीको सरूवा गरेको हो।
सरूवा गरिएकामध्ये प्रमुख नामहरू यसप्रकार छन् :
प्रेमप्रसाद पौडेल र वीरभद्र जोशी : काठमाडौँ जिल्ला प्रशासन कार्यालय
नरबहादुर थापा : बाँके जिल्ला प्रशासन कार्यालय
कमला श्रेष्ठ (सहायक कम्प्युटर अपरेटर), उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ, धनराज उपाध्याय : कारागार व्यवस्थापन विभाग वा अन्तर्गत
थप ६ जना कर्मचारीहरूलाई पनि अध्यागमनबाट हटाइएको छ।
यसअघि गृह मन्त्रालयले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमै तानेको थियो।अनियमितता र बिचौलियाको सेटिङमा पैसा असुली गरी विदेश पठाउने घटनामा अनुसन्धान अघि बढेसँगै गृह मन्त्रालयले तीव्र रूपमा कर्मचारी हेरफेर गरिरहेको छ। यो सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले भनेका छन् , 'गृहमन्त्रीले ‘छानबिन गर, म पद छोड्छु’ भन्न सके हुन्छ।'
#गृहमन्त्री #रमेश #लेखक