विराटनगर— सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार साँझ भएको आगलागीमा पाँच परिवारका १० वटा घर जलेर नष्ट हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीयहरूका अनुसार आगलागी स्थानीय बाबुनन्द गोइतको घरबाट सुरु भएको हो । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउनका लागि बालिएको घुराबाट सल्किएको आगो नियन्त्रण बाहिर गएपछि अन्य घरमा पनि फैलिएको थियो ।

स्थानीय बाबुनन्द गोइत, रमानन्द यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय वीरेन्द्रकुमार यादवका अनुसार बाबुनन्द गोइतको एक लाख रुपैयाँ नगदसहित घरभित्र रहेका फर्निचर, लत्ताकपडा, सुनचाँदीलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका निरीक्षक दिनेश अधिकारीले आगलागीबाट ठूलो क्षति भएको पुष्टि गरेका छन् । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी र कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।