विराटनगर— सुनसरीको धरानस्थित बाक्लो जंगलमा गत चैत २४ मा मृत अवस्थामा फेला परेकी धनकुटाकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या विदेशमा बसेका पतिकै निर्देशनमा परिवारका सदस्यहरुकै संलग्नतामा गरिएको पुष्टि भएको छ ।
कोरियामा रहेका प्रेमबहादुरले श्रीमती चुनुकुमारीमाथि परपुरुषसँग विवाहेतर सम्बन्ध रहेको शंका गर्दै पटकपटक सम्बन्धविच्छेदको माग गर्दै आएका थिए । उनले २०८१ मंसिर २७ मा कोरियाबाट नेपाल फर्किएपछि पत्नीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका थिए । तर चुनु मानिनन् । त्यसपछि ५ माघमा कोरियातर्फ फर्किएपछि उनले हत्या योजना बनाएका थिए ।
नेपाल प्रहरीको अनुसन्धानबाट खुलेअनुसार कोरियामा कार्यरत प्रेमबहादुरले श्रीमतीको हत्या योजनाबद्ध रूपमा गराएका थिए । उनले प्रेमबहादुरले कोरियाबाट निर्देशन दिएअनुसार भाइ ढकेन्द्र बुढाथोकीसहित कम्तीमा ७ जनाको मिलोमतोमा हत्या भएको हो । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने भारतको आसामस्थित तेजपुरबाट भाडामा ल्याइएको राजु थापा मगर भने फरार छन् ।
भाइ, ज्वाइँ, भाउजु र भाँडाका हत्यारासमेत संलग्न
सुनसरी प्रहरीका अनुसार पक्राउ परेकामध्ये प्रेमबहादुरको भाइ ढकेन्द्र (मोरङ), ढकेन्द्रकी पत्नी सृष्टि, प्रेमबहादुरका कान्छा ज्वाइँ योगेन्द्र गौतम र योगेन्द्रकी पत्नी डेनु र साथै परिवार निकट केशवराज दाहाल रहेको पुष्टि भएको छ ।
हत्यामा प्रत्यक्ष संलग्न मानिएका भारतको तेजपुर निवासी राजु थापा मगर फरार छन् । उनी सृष्टि बुढाथोकीको फुपुको छोरा हुन् । प्रारम्भिक अनुसन्धान अनुसार राजुलाई हत्या गर्न रकम दिने सर्तमा बोलाइएको हो । प्रेम र राजुबीच रकमको मौखिक सहमति भएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
फोनमा बहकाएर जंगल लगियो, डोरीले घाँटी कसियो
२४ चैतमा प्रेमले कोरियाबाट फोन गरी चुनुलाई भाइ ढकेन्द्रलाई भेट्न केराबारी जान आग्रह गरे । त्यही बहानामा चुनुलाई भेट्न आएका ढकेन्द्र, योगेन्द्र र राजुले उनलाई मोटरसाइकलमा राखेर धरान–६ को पञ्चकन्या सामुदायिक वनतर्फ लगे । त्यहाँ घना जंगलभित्र लैजाँदा उनीमाथि निर्घात कुटपिट गरियो ।
चुनु बेहोस भएपछि उनले भिरेको झोलाको डोरीले घाँटी कसेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । हत्या पश्चात प्रेमबहादुरले भाइ ढकेन्द्रमार्फत कोरियाबाटै घटनाको नियमित ‘अपडेट’ लिइरहेको समेत प्रमाण फेला परेको छ ।
कसरी समातिए मुख्य आरोपी ?
प्रहरीले चैत २९ गते ढकेन्द्र, सृष्टि, डेनु र केशवराजलाई पक्राउ गर्यो भने ३० मा योगेन्द्र गौतम काँकडभिट्टा नाकाबाट समातिए । त्यसपछि परिवारको सहयोगमा प्रेमलाई कोरियाबाट नेपाल झिकाएर त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । राजुको खोजी जारी रहेको प्रहरीले भनेको छ ।
हत्या ‘फ्यामिली नेटवर्क’को झलक
यो घटना नेपालमा बढ्दो पारिवारिक आपराधिक संरचनाको ज्वलन्त उदाहरण बनेको छ जहाँ घरभित्रैका सदस्यले विदेशबाट निर्देशन लिँदै योजनावद्ध हत्यामा संलग्नता देखाएका छन् । आपराधिक मनोविज्ञानका विज्ञहरुले यसलाई ‘अनुशासित षड्यन्त्र’ भन्दै गम्भीर चिन्ताको विषय बताएका छन् ।
योजनाबद्ध, व्यवस्थित र नियन्त्रणमा राखिएको यस्तो षड्यन्त्रलाई गहन अनुसन्धानको भाषामा ‘अनुशासित षडयन्त्र’ भनिन्छ । यसमा अपराध योजनाबद्ध ढंगले गरिन्छ । कार्यान्वयनमा सहभागिहरूबीच स्पष्ट कार्यविभाजन हुन्छ । सूचना आदानप्रदान समेत गोप्य तथा अनुशासित ढंगले हुन्छ । यो शब्दले संवेदनशील र उच्च स्तरीय अपराध योजनाको संकेत गर्छ जुन सामान्य झगडा वा उत्तेजनामा भएको हत्याभन्दा धेरै गम्भीर र संरचित हुन्छ ।
न्याय माग्दै पीडित पक्ष : अपराधीलाई कडा सजाय दिन माग
पीडित परिवारले हत्यामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेका छन् । मृतकका छोराको भविष्य र समाजमा हिंसात्मक सोचको प्रवृत्ति न्यून गर्न यस्ता घटनालाई उदाहरणीय सजायमार्फत अन्त्य गर्नु पर्ने स्थानीयले आवाज उठाएका छन् ।