विराटनगर– पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशीले युवाहरुलाई यस प्रदेशको पर्यटन क्षेत्रको बारेमा सचेतना अभिवृधि गरेको छ । विकल्पमा आवद्ध युवाहरुको समूहलाई मन्त्रालयमा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, सचिव विशाल घिमिरेले अन्तरक्रियामार्फत पर्यटन क्षेत्र, त्यसको महत्व र समग्र अवस्थाको बारेमा जानकारी गराएका हुन् । 

‘कोशी प्रदेशलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न पर्यटन भैमण वर्ष घोषणा गरेर तयारीमा जुटेका छौं,’ मन्त्री मण्डलले भने, ‘दिगो पर्यटन, वातावरणीय संरक्षण र आर्थिक वृद्धिको लागि कोशी प्रदेशमा अत्यधिक सम्भावना रहेकोले त्यसको लाभ जनसाधारणसम्म पुर्‍याउन पर्यटन भ्रमण वर्ष २०८२ घोषणा गरेर काम अघि बढाएका छौं ।’ 

पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले यस प्रदेशका पर्यटन सम्भाावना, पर्यटकीय स्थल, पर्यटन क्षेत्रका भौतिक अवस्थितिलगायतका बारेमा जानकारी गराएका थिए । 

विकल्पका बसन्त अधिकारीले यस प्रदेशमा प्रचुर संभावना रहेको पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र प्रचार प्रसारमा हातेमालो गर्न विकल्पमा आवद्ध सबै युवा प्रतिबद्ध रहेको बताएका थिए ।