विराटनगर– बारा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६७ किलोग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जीतपुर सिमरा उपमहानगरपालिका–३, बजनीमा रोक्काएर चेकजाँच गर्दा ट्रकबाट ३०५ किलो गाँजा बरामद गरिएको हो ।

यस क्रममा ट्रकमा सवार मकवानपुरको कैलाश गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका–१० का २७ वर्षीय जीवन ठोकरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका–४, खुटवाका ३१ वर्षीय पवन कुमार साहलाई २ किलो १४० ग्राम गाँजासहित पक्राउ गरेको पण्डितले जानकारी दिए। यस्तै सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका–१, मुसहरीटोलस्थित मकै बारी हुँदै टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ६० किलो गाँजा बरामद गरेको हो ।

उक्त क्रममा भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाको बिजवनी थाना क्षेत्र, जितना ग्राम रेगनियाँ बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको बारा प्रहरी कार्यालयले जनाएको छ ।