काठमाडौँ — देशभर शनिबार आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।

शनिबार रातिको मौसमसमेत बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

रातिको समय पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।