काठमाडौँ — स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावका बाबजुद आज (बुधबार) देशभर सामान्यतः मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम मात्रामा वर्षा हुने सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ भने बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ । त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ ।