विराटनगर — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेको घटनामा संलग्न ट्राफिक प्रहरीहरूलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान अघि बढाएको जनाएको छ । गत मंसिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले लात्ताले प्रहार गर्दै कुटपिट गरेको भिडियो हाल सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेपछि सार्वजनिक दबाब बढेको थियो ।
भिडियो सार्वजनिक भएपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा उक्त घटनामा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट हटाएर कार्यालयमै झिकाइएको जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानअनुसार २०८१ मंसिर २३ मा सो घटना सुन्धारा आकाशे पुलमुनि भएको पुष्टि भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइ आवश्यक छानबिन तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।’
ट्राफिक प्रहरीको यस्तो आचरणप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाहीको माग गर्दै नागरिक समाज र मानव अधिकारकर्मीहरूले पनि चासो व्यक्त गरेका छन् ।