विराटनगर– सशस्त्र प्रहरी बलले सुनसरीको बराहक्षेत्र–१ स्थित बराहक्षेत्र मन्दिर नजिकैको झाडीमा लुकाइ अर्को स्थानमा लैजान लागेको १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय दीपक राई र धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ५७ वर्षीय धनबहादुर राई छन् ।
सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका–७ थानगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित धनकुटा साँगुरगढी गाउँपालिका–९ बस्ने २२ वर्षीय सलिन राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीलाई देख्नासाथ को.३७ प ८६३१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको र को.प्र.१–०२–०४३ प ३०६३ नम्बरको मोटरसाइकल चालक सलिनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार तलासी गर्दा दुवै मोटरसाइकलमा रहेको २ वटा बोरा र २ वटा झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार अर्को मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।