काठमाडौँ  — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागका एक-दुई स्थानमा पनि यस्तै अवस्था देखिन सक्ने जनाइएको छ।

मौसममा आउने यस्ता परिवर्तनले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। सोमबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। 

त्यस्तै रातिको समयमा पनि ती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत रहेको छ।