काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको आयोजनामा सोमबार काठमाडौँमा हुने भनिएको जनप्रदर्शन स्थल परिवर्तन गरिएको छ । भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम अब रत्नपार्कस्थित शान्ति बाटिकामा हुने भएको छ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार साँझ प्रेस नोट जारी गर्दै कार्यक्रम स्थल परिवर्तन गरिएको जानकारी दिएका हुन्। उनले चैत्र १५ मा तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ, साथै राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्न लागेका बन्देजसम्बन्धी कानुन तत्काल रोकिनु पर्ने माग गर्दै प्रदर्शन आयोजना गरिएको बताएका छन् ।
‘पार्टीको झण्डा नभइ राष्ट्रिय झण्डामुनि कार्यक्रम हुनेछ । समान विचार भएका दल, समूह, अभियान, संघ–संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि पत्राचार गरेका छौँ । सबैको साथ र सहयोगको प्रतिबद्धता पाएका छौँ,’ महामन्त्री बर्तौलाले भने ।
उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क र समन्वय गरेका छन् । थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग संवाद गरेका छन्। राष्ट्र बचाउ अभियान, नेपाली कांग्रेस (बीपी), शिव सेना नेपाललगायत विभिन्न संघ–संस्थाहरूसँग पनि समन्वय गरी निमन्त्रणा गरिएको छ।
पार्टीले सम्पूर्ण संयन्त्र परिचालन गरेको र तल्लो तहसम्म संगठनलाई सक्रिय बनाएको जनाएको छ। अनावश्यक घुसपैठ रोक्न स्वयंसेवकको व्यवस्था मिलाइएको र कार्यक्रमपछि सरसफाइका लागि भातृ संगठन समन्वय विभागले छुट्टै टिमसमेत निर्माण गरिसकेको पार्टीले जनाएको छ।